चीनको विजय दिवसमा सहभागी हुन बख्तरबन्द रेलमा बेइजिङ हिडे किम जोङ उन
चीनको विजय दिवसमा सहभागी हुन बख्तरबन्द रेलमा बेइजिङ हिडे किम जोङ उन
गण्डकी टाइम्स
गण्डकी टाइम्स
प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उन चीनको राजधानी बेइजिङतर्फ प्रस्थान गरेका छन्। उनी बुधबार हुने भव्य ‘विजय दिवस’ सैन्य परेडमा सहभागी हुनेछन्, जहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितका शीर्ष नेताहरूसँग उनको भेट हुने अपेक्षा गरिएको छ। यो सहभागिता किमको पहिलो बहुपक्षीय अन्तर्राष्ट्रिय उपस्थिति मानिएको छ।
दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार किमले मंगलबार आफ्नै बख्तरबन्द रेलमार्गमार्फत चीन प्रवेश गरेका हुन्। विशेष सुरक्षा व्यवस्थाका कारण रेल ढिलो गतिमा चलाइने भएकाले बेइजिङ पुग्न करिब २४ घण्टा लाग्ने अनुमान गरिएको छ। करिब ९० डब्बा लामो रेलमा बैठक कक्षदेखि शयनकक्ष र अतिथि सत्कार कक्षसम्म समावेश छन्।
यो सहभागिता ऐतिहासिक पनि बनेको छ। सन् १९५९ पछि पहिलोपटक कुनै उत्तर कोरियाली नेताले चिनियाँ सैन्य परेडमा उपस्थिति जनाउने भएका छन्। यसपटकको कार्यक्रममा म्यानमार, इरान, क्युबा लगायत २६ राष्ट्रका प्रमुख सहभागी हुनेछन्।
किमको रेलयात्रा उत्तर कोरियाली नेताहरूको परम्परा बनेको छ। उनका हजुरबा किम इल सुंगले सुरु गरेको परम्परालाई उनका पिता किम जोङ इलले पनि निरन्तरता दिएका थिए। विमान यात्राप्रति डर भएका कारण किम जोङ इल प्रायः विदेश भ्रमणमा रेलमै निर्भर रहने गर्थे।
यसअघि, २०१५ को विजय दिवस परेडमा उत्तर कोरियाले उच्च अधिकारी छोए रयोङ-हे पठाएको थियो भने किम स्वयं सन् २०१९ मा चीन–उत्तर कोरिया कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका क्रममा अन्तिमपटक बेइजिङ पुगेका थिए।
प्रतिक्रिया