चीन। चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठक (पाँचौँ प्लेनम) पार्टीभित्र अनुशासन कायम गर्ने र भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्र बनाउने विषयमा केन्द्रित भएको छ। सरकारी सञ्चारमाध्यमहरूले राष्ट्रपति सी चिनफिङको नेतृत्वप्रति पार्टीका सदस्यहरूको प्रतिबद्धता नै चीनको सफलताको प्रमुख आधार भएको बताएका छन्।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार चार दिनसम्म चल्ने बैठक बेइजिङमा सुरु भएको हो। बैठकको मुख्य कार्यसूचीमा पार्टीको पोलिटब्युरोले केन्द्रीय समितिसमक्ष प्रस्तुत गर्ने कार्यप्रतिवेदन र ‘पार्टीको आन्तरिक सुशासनलाई थप सुदृढ बनाउने’ उद्देश्यको दस्तावेज पारित गर्ने विषय समावेश छन्।
पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सीले बैठकमा कार्यप्रतिवेदन प्रस्तुत गर्नुका साथै प्रस्तावित दस्तावेजको मस्यौदा पेस गरेका छन्। बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन, अनुशासन र राजनीतिक निष्ठाबारे छलफल हुने अपेक्षा गरिएको छ। बैठकको अन्तिम दिन बिहीबार निष्कर्षसहितको विज्ञप्ति सार्वजनिक गरिने जनाइएको छ।