काठमाडौँ। फुकुओका–तोसु, जापानस्थित CODO International College ले नेपालमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहतका लागि ३ दिनमै ९ लाख १ हजार ६५ रुपैयाँ सहयोग संकलन गरेको छ। कलेज तथा CVG Group को पहलमा संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
मातृभूमिमा आएको विपत्तिमा सहयोग पुर्याउने उद्देश्यले कलेजका प्रिन्सिपल यामामोतोको नेतृत्व तथा सहकार्यमा सहयोग संकलन गरिएको थियो। नेपाली विद्यार्थी कुशल डोटेल लगायत कलेजका विद्यार्थी, शिक्षक, कर्मचारी र शुभेच्छुकहरूको सक्रिय सहभागितामा छोटो समयमै उक्त रकम संकलन भएको हो।
विदेशमा रहेर पनि नेपालका बाढीपीडित नागरिकको पीडामा साथ दिँदै गरिएको यो सहयोगले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ। सहयोगमा सहभागी CODO International College, CVG Group, प्रिन्सिपल यामामोतो, कुशल डोटेल लगायत सम्पूर्ण कलेज परिवारप्रति धन्यवाद तथा आभार व्यक्त गरिएको छ।