कञ्चनपुर, १४ असोज। कञ्चनपुरको दोधाराचाँदनी झोलुंगे पुल बिच भागबाट चुडिएको छ । महाकाली नदीमा निर्माण भएको झोलुंगे पुल बिच भागबाट चुडिएको हो ।
जिल्लाको भीमदत्त नगरपालिका-१३ पिपरैयादेखि दोधाराचाादनी-४ दोधारा जोड्ने झोलुंगे पुलको बिच भागबाट चुडिएर नदीमा लत्रिएको छ । महाकाली नदीमा पिलर धसिएपछि पुल चुडिएको स्थानीयले बताएका छन् । स्थानीय सन्तुराम लुहारले पुल चुडिएको बताए । उनले समयसमयमा मर्मत नगर्दा पुल यसरी बिच भागबाट चुडिएको हुनसक्ने बताउँदै भने '२५ बर्ष अघि निर्माण भएको पुल निरन्तर मर्मत सम्भार गर्नुपर्नेमा नभएकाले चुँडिएको हुनसक्छ ।'
अढाई दशक अघि निर्माण भएको उक्त पुल बिच भागबाट अनौठो तरिकाले चुडिएपछि आउजाउ बन्द भएको छ । ०५८ सालमा निर्माण भएको एक हजार बढी मिटरको उक्त झोलुंगे पुल एसियाकै दोस्रो लामो पुलको रुपमा परिचित छ ।
महाकाली नदीपारीको नेपाल भनेर चिनिने दोधाराचाँदनीलाई जिल्ला सदरमुकाम महेन्द्रनगरदेखि देशकै भूगोलसँग प्रत्यक्ष जोड्ने उद्देश्यका साथ पुल निर्माण गरिएको थियो ।