काठमाडौँ, १७ असोज। भोलिदेखि फेरि मौसमी प्रणाली सक्रिय हुने भएको छ। माथिल्लो वायुमण्डलीय प्रभावका कारण आगामी एक साता वा त्यसभन्दा केही बढी समयसम्म देशका विभिन्न भूभागमा वर्षाको क्रम जारी रहने मौसमविद् विनोद पोखरेलले बताएका छन्।
उनका अनुसार देशभर एकैपटक वा दिनभर लगातार वर्षा हुने सम्भावना कम छ। मुख्यतः अपराह्नपछि वर्षा सुरु भएर साँझसम्म सक्रिय रहने सम्भावना रहेको छ।
आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
भोलि आइतबारदेखि मौसमी प्रणाली थप सक्रिय हुँदै सोमबार र मंगलबार देशका अधिकांश भूभागमा वर्षा फैलिने प्रक्षेपण गरिएको छ। यी दुई दिन केही स्थानमा छोटो समयका लागि भारी वर्षासमेत हुन सक्ने मौसमविद्को भनाइ छ। त्यसपछि बुधबारदेखि वर्षा केही कम हुने र बिहीबार पहाडी भूभागका केही स्थानमा पुनः हल्का वर्षा हुन सक्ने संकेत देखिएको पोखरेलले बताए।