थाक्रे गाउँपालिकामा अनियमितताको चाङ्ग : ११ करोड रुपैयाँभन्दा बढी बेरुजू, कानुन बिपरित लाखौंको खर्च
थाक्रे गाउँपालिकामा अनियमितताको चाङ्ग : ११ करोड रुपैयाँभन्दा बढी बेरुजू, कानुन बिपरित लाखौंको खर्च
गण्डकी टाइम्स
गण्डकी टाइम्स
धादिङ, ६ जेठ । थाक्रे गाउँपालिकामा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत (सीएओ) र लेखा शाखाबीचको मिलेमतोमा गरिएको आर्थिक अनियमितताले गाउँपालिकालाई ठूलो आर्थिक चपेटामा पारेको छ। हालै सार्वजनिक भएको महालेखापरीक्षकको प्रतिवेदन अनुसार ११ करोड २३ लाख रुपैयाँभन्दा बढी बेरुजू देखिएको छ भने नीति, नियम र कानुनविपरीत करोडौं खर्च गरिएको उल्लेख छ।
पालिका कार्यालयले सार्वजनिक लेखा ढाँचा नअपनाई वित्तीय विवरण तयार गरेको, बैठक र भ्रमण भत्ताको नाममा ३१ लाख रुपैयाँभन्दा बढी अनियमितता, बिना स्वीकृति ३३ जना कर्मचारीको तलब खर्च, र अध्यक्षका आफन्तलाई नियुक्ति दिई लाखौं रुपैयाँ वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ।
गाडी सुविधा लिइसकेका अध्यक्षले मासिक १० हजार रुपैयाँ यातायात भत्ता बुझेको, गलैँचा बुन्ने तान खरिदको नाममा नक्कली बिलमार्फत ३ लाखभन्दा बढी रकम झ्वाम पारिएको समेत खुलेको छ।
भत्ता काण्ड : एकै मितिमा एकै समयमा विभिन्न बैठक !
प्रतिवेदनअनुसार पालिकाले ३१ लाख ३२ हजार रुपैयाँको बैठक भत्ता लिएको छ । जुन अधिकांश नियमविपरीत देखिएको छ। एउटै मितिमा फरक–फरक निर्णय देखाएर एकै समयमा बैठक बसेको देखाइ भत्ता बुझिएको हो।
यसैगरी, पालिकाका अध्यक्ष, कार्यकारी अधिकृत र अन्य कर्मचारीले बागमती प्रदेशले तोकेकोभन्दा बढी दरमा भ्रमण भत्ता लिएको खुलासा भएको छ।
तलब–ग्रेड बिना नै ३३ कर्मचारीको लाखौं खर्च
अझै हैरानीको विषय के छ भने गाउँ कार्यपालिकाका ३३ जना कर्मचारीको तलब तथा ग्रेड वापतको रकम कुनै वैधानिक प्रतिवेदन पारित नगरी खर्च गरिएको छ । जुन निजामती सेवा ऐन २०४९ को दफा ७ (२)(ख) को स्पष्ट उल्लङ्घन हो।
प्रोत्साहन भत्तामार्फत झ्वाम्
पालिकाले नीति विपरित २० देखि २५ प्रतिशतसम्म प्रोत्साहन भत्ता निर्धारण गरेर ४९ लाख ९५ हजार ८२४ रुपैयाँ वितरण गरेको छ।
‘आफन्तलाई अवसर’: कानुनी सल्लाहकारमा अध्यक्षका आफन्त
ऐन विपरित अध्यक्ष रामकुमार आचार्यले आफ्नै आफन्त जगनाथ अधिकारीलाई कानुनी सल्लाहकार नियुक्ति दिँदै ३ लाख २६ हजार ९४० रुपैयाँ तिरेको देखिन्छ। यस्तै १ करोड ४४ लाख ७० हजार रुपैयाँ कर्मचारी नियुक्तिका नाममा अवैध खर्च गरिएको छ।
यातायात भत्ता : गाडी सुविधा लिएर पनि मासिक खर्च बुझ्ने
अध्यक्ष आचार्यले गाडी सुविधा पाइसकेको अवस्थामा समेत मासिक १० हजार रुपैयाँ अतिरिक्त यातायात खर्च लिएको प्रतिवेदनमा उल्लेख छ। सो रकम फिर्ता गरिनुपर्ने सुझाव पनि प्रतिवेदनमा छ।
नक्कली बिलको आशङ्का : गलैँचा बुन्ने तानको खेल
प्रतिवेदनले ३ लाख ३९ हजार रुपैयाँको गलैँचा बुन्ने तान खरिद गरिएको देखिए पनि ती समुदायमा हस्तान्तरण नगरिएको उल्लेख गर्दै नक्कली बिलको आशंका गरिएको छ। उक्त रकम असुल गर्न निर्देशन दिइएको छ।
स्थानीय बासिन्दाहरूको आक्रोश :
थाक्रे गाउँपालिकाका स्थानीयहरूले अध्यक्षसहितको टिमले "पदीय जिम्मेवारीको चरम दुरुपयोग" गरेको भन्दै गम्भीर छानबिन र कारबाहीको माग गरेका छन् ।
प्रतिक्रिया