२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

जीवन बिमा सुरक्षित भविष्यको आधार हो: शाखा प्रमुख सुनिल श्रेष्ठ

जीवन बिमा सुरक्षित भविष्यको आधार हो: शाखा प्रमुख सुनिल श्रेष्ठ

गण्डकी टाइम्स
मंगलवार, बैशाख ९ २०८२
गण्डकी टाइम्स
मंगलवार, बैशाख ९ २०८२
  • काठमाडौं, ९ बैशाख । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स गोरखा शाखाका प्रमुख सुनिल श्रेष्ठले जीवन बिमा सुरक्षित भविष्यको आधार भएको उल्लेख गरेका छन् । सात वर्षभन्दा बढी समयदेखि जीवन बिमा क्षेत्रमा सक्रिय श्रेष्ठले बिमालाई ‘सुरक्षित भविष्यको आधार’ को रूपमा लिँदै जनचेतनाको कमी र व्यवहारगत कमजोरी सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् । “बिमा कुदेर होइन, बुझेर गर्नु; करले होइन, रहरले गर्नु; आफ्नाको लागि होइन, आफ्नो लागि सोचेर गरौं।” रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, गोरखा शाखाका प्रमुख सुनिल श्रेष्ठको यो भनाइले जीवन बिमाप्रति नेपाली समाजमा जनचेतना अभिवृद्धि गर्न गहिरो सन्देश दिएको छ। जीवन बिमा क्षेत्रमा सक्रिय श्रेष्ठले जीवन बिमालाई "सुरक्षित भविष्यको आधार" को रूपमा लिँदै, जनचेतनाको कमी र व्यवहारगत कमजोरी सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले भने, “जीवनमा कसले कति कमायो भन्दा पनि, कसले कति जोगायो भन्ने कुरा अझ महत्वपूर्ण हुन्छ। खर्चपछि बचत गर्ने होइन, बचत गरेर खर्च गर्ने बानीले दीर्घकालीन लाभ दिन्छ।” श्रेष्ठका अनुसार, नेपाली समाजमा आम रूपमा पहिले खर्च गर्ने र पछि मात्र बचत गर्ने प्रवृत्ति छ, जुन सुधार गर्न जीवन बिमा एक प्रभावकारी उपाय हुन सक्छ। उनले जोड दिँदै भने, “विशेष गरी कमाउने मुख्य व्यक्तिमा जीवन बिमा अनिवार्यरूपमा हुनु जरुरी छ। आज पनि धेरै नेपाली परिवारमा एक जनाको कमाइमा पाँच/छ जना आश्रित हुन्छन्। यदि त्यस्तो व्यक्तिलाई केही भयो भने, परिवारले भावनात्मक मात्र होइन, आर्थिक संकट पनि बेहोर्नुपर्छ।” श्रेष्ठले जीवन बिमालाई ‘ब्याकअप’को रूपमा लिन सुझाव दिँदै उदाहरण प्रस्तुत गरे, “घरमा विजुली भए पनि मैनबत्ती राखिन्छ, किनभने बत्ती कहिले जाने हो थाहा हुँदैन। त्यस्तै, जीवनमा पनि कहिले के घटना घट्छ, कसैलाई थाहा हुँदैन। बच्चा जन्मिन नौ महिना अघिदेखि थाहा हुन्छ, तर मृत्यु कहिले हुन्छ भन्न सकिन्न। त्यसैले बिमा अनिश्चितताको सुरक्षा हो।” हाल नेपालमा बिमा सरेन्डरको दर बढिरहेको सन्दर्भमा श्रेष्ठले अभिकर्ता तथा कम्पनीद्वारा बिमितलाई पर्याप्त जानकारी नदिइ बिमा गराउने प्रवृत्तिलाई मुख्य कारणका रूपमा देखाएका छन्। उनले भने, “धेरैजसो बिमा आफन्तको आग्रहमा गरिन्छ, तर दीर्घकालीन सोच नहुँदा योजना बीचमै बन्द हुने गरेको छ। साथै, आम्दानी अनुसार उपयुक्त योजना नचयन गर्दा पनि बिमा सरेन्डरको जोखिम बढ्छ।” श्रेष्ठले अन्त्यमा अभिकर्ता, कर्मचारी तथा बिमितहरूलाई बिमाको उद्देश्य, सेवा, योजना र लाभका बारेमा स्पष्ट जानकारी लिन र दिन आग्रह गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij