२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

गलबन्दी ‘ट्रेन्डिङ’ नम्बर १ मा परेपछि, के भन्छन् प्रकाश सपुत ?

गलबन्दी ‘ट्रेन्डिङ’ नम्बर १ मा परेपछि, के भन्छन् प्रकाश सपुत ?

गण्डकी टाइम्स
शनिवार, जेठ १८ २०७६
गण्डकी टाइम्स
शनिवार, जेठ १८ २०७६
  • काठमाडौँ ।  प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी ‘गलबन्दी’को म्युजिक भिडियो युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर एकमा आएको छ । सार्वजनिक भएको ६ दिनपछि शनिबारसम्ममा गीतले ४८ लाख बढी दर्शक ‘भ्युअर्स’ पाएको हो । सपूतले अघिल्लो वर्ष निर्माण गरेको लोक गीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङको नम्बर एकमा आएको थियो । जुन गीत अहिलेसम्म एक करोडभन्दा बढी पटक हेरिएको छ । बोलमायाकै पूर्वभाग ‘प्रिक्वेल’को रुपमा ‘गलबन्दी’ ल्याएको सपुतले बताउनुभयो । गलबन्दीमा पनि शब्द, सङ्गीत, स्वर र श्रव्यदृश्य निर्देशन सपुतकै छ । स्वरमा सपुतलाई शान्तिश्री परियारको साथ छ । म्युजिक भिडियोमा सपुत र अञ्जली अधिकारीको अभिनय छ । भिडियो छायाङ्कन सपुतकै जन्मघर बागलुङ, धम्जामा गरिएको छ । ‘परम्परागत रोधीको झझल्को आउने गरी गीत बनेको छ’, सपुतले भन्नुभयो, ‘राम्रो प्रतिक्रिया आएको छ, उत्साहित छु ।’ मौलिक शब्द, सङ्गीत र प्रस्तुतीकरणका कारण गीतलाई स्रोता, दर्शकले रुचाएका छन् । म्युजिक भिडियोको कथा, सोच र निर्माणपक्षसमेतले गीतलाई न्याय गरेको छ । लोक दोहोरीमा विशुद्ध मानवीय प्रेम र संवेदनाको भाव प्रकट भएको छ । ‘एकदमै रमाइलोका लागि बनाइएको गीत हो’, सपुतले भन्नुभयो, ‘भिडियोमा नयाँपन दिने प्रयास गरेको छु ।’ कथात्मक शैली, सिर्जनशीलता, अनौपचारिक प्रस्तुति, ठेट सम्वाद र जीवन्त अभिनयले दर्शक गीतमा लोभिन्छन् । सपुत चञ्चले युवक र अधिकारी लज्जालु युवतीका रुपमा म्युजिक भिडियोमा देखिएका छन् । गीतको मर्म र भावलाई भिडियोमा मौलिक ढङ्गले उतार्न निर्देशकका हिसावले पनि सपुत सफल देखिनुभएको छ । भिडियो हेर्ने जो कोहीलाई कलाकारको अभिनय बनावटी लाग्दैन । भाका नेपाल प्रालिद्वारा निर्मित गीतको म्युजिक भिडियोमा सपुतका आमाबुबा, भाइ र आफन्जनकोसमेत अभिनय देख्न पाइन्छ । यसअघि ‘दोहोरी ब्याटल’ गाएर विवादित बन्नुभएका सपुतले सामाजिक विषयवस्तुलाई सिर्जनामार्फत मुखरित गर्दै आउनुभएको छ । गत वर्ष सार्वजनिक ‘बोल माया’ विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत हो । विषयवस्तुको छनौट र प्रस्तुतीकरणमा ध्यान दिनसके सफल भइने पाठ आफूले सिकेको सपुतको भनाइ छ। पछिल्लो समय लोकदोहोरी गीतले युट्युबमा राम्रो दर्शक पाउन थालेका छन् । गत असोजमा सार्वजनिक भएको लोकदोहोरी ‘सालको पातको टपरी’ चार करोड भन्दा बढी पटक हेरिएको छ । उक्त गीत नै युट्युबमा सबैभन्दा बढी हेरिएको पहिलो नेपाली लोकदोहोरी बन्न सफल भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij